Skip to main content

किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ) Kirat Civilization

 ( किरात सभ्यताकालिन ऐतिहासिक,दरबारहरु,गढिहरु,

किरातीहरुले पुज्ने शक्तिपिठ माङहरु किरात ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु कहा कहा अतिक्रमण भएका छन? पढौ)

Kirat Civilization 

नेपालमा प्राचिनकालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहासमा उल्लेख छ।यो भुमिमा प्राचीन किरात मानव सभ्यता तथा किरात इतिहासबाट नै नेपालको आधिकारीक इतिहासको सुरु हुन्छ भनेर ईतिहासमा पाईन्छ।त्यसैले प्राचिन किरात सभ्यता,इतिहास जति नै नेपाली सभ्यता र इतिहास पनि प्राचीन रहेको देखिन्छ।


यो प्राचीन भुमी नेपालमा किरातकालमा मानव सभ्यता विकासको क्रममा किरातहरुले स्थापना गरेको सभ्यता,ईतिहास,किरातीहरुले अपनाएको शाषनप्रणाली,न्याय प्रणाली,खानपान प्रणाली,कृषी प्रणाली,औषधि उपचार विधि,औजार उपकरण विधि,संस्कार-संस्कृति र दर्शन नै नेपाली सभ्यता,ईतिहास,शाषनप्रणाली,खानपान प्रणाली,कृषि प्रणाली,औषधिउपचार विधि,औजार उपकरण विधि,संस्कृति वा दर्शनको प्रवेशद्वार हो भन्ने ईतिहासकारहरुको मान्यता रहेको छ।


तर प्राचीन नेपालमा किरातीहरुले नै मानव सभ्यताको विकास सुरुवात गरेका थिए भन्ने ईतिहास लाई प्रमाणित गर्ने आधारहरु ति किरात सभ्यताकालिन,किरातकालिन ऐतिहासिक स्थल,दरबार,गढिहरु,विभिन्न ऐतिहासिक वस्ती साथै सहरका भग्नावशेषहरु,बौद्ध चैत्यहरु,वास्तुकला मुर्तीहरु,किरातकालिन प्रविधि,हातहतियार तथा औजार उपकरणहरु लगायत प्राचीन किरात सभ्यताकालिन प्रमाणहरु आज लोपन्मुख,जीर्ण अवस्थामा पुगेका छन।


यदि ति किरातकालिन ऐतिहासिक प्रमाणहरु गढिहरु,दरबारहरु,विभिन्न किरातकालिन ऐतिहासिक स्थलको भग्नावशेषहरु लोप भएर जाने हो भने प्राचीन नेपालमा कुनै समयमा किरात सभ्यता थियो,नेपालमा किरातीहरुले ३२ पुस्ता सम्म शाषन गरेका थिए भन्ने आधारहरु/ऐतिहासिक प्रमाणहरु पनि समाप्त भएर जानेछ। 


यो संसारमा प्राचिन मानव सभ्यताको पहिचान गर्ने राष्ट्रीय अन्तराष्ट्रीय स्तरको आफनै किसिमको मापदण्डहरु रहेका छन।त्यसैले प्राचीन नेपालमा किरात सभ्यता थियो भनेर ईतिहासको केहि पानाहरुमा उल्लेख हुने बितिकै किरात सभ्यताको पहिचान राष्ट्रीय अन्तराष्ट्रीय स्तरमा स्थापित गर्न पर्याप्त हुदैन।यो प्राचिन भुमि नेपालमा (Kirat Civilization)किरात सभ्यता थियो भन्ने मान्यता लाई स्थापित गर्न मानव सभ्यता हो भनेर निश्चित मापदण्डहरु सहित प्रमाणित हुन जरुरी पर्दछ।प्राचिन नेपालमा किरात सभ्यता थियो भनेर राष्ट्रीय अन्तराष्ट्रीय स्तरको मानवशाष्त्री,समाजशास्त्री र (Genetic Scientist)अनुवांशिक वैज्ञानिकहरुले खोज अनुसन्धान गरेर प्रमाणहरु अघि सार्नु पर्दछ।

अझ महत्वपुर्ण स्थलगत रुपमा (Archaeologists) पुरातात्वविदहरु पुरातात्विक उत्खनन गरेर किरात सभ्यताकालिन सहर,बस्ती,कृषि प्रणाली जन्य औजार उपकरणहरु,हात हतियारहरु,गढि दरबारहरु,वास्तुकला मुर्तीहरु,विभिन्न भग्नावशेषहरु,उक्त सभ्यताको मृत मानिसहरुको अस्तिपञ्जर,हाड बङ्गाराहरु भेट्नु,(DNA Scientist)डिएनए वैज्ञानिहरुले डिएनए रीपोर्ट द्वारा प्रमाणित गर्नु आवश्यक पर्दछ।


यो संसारकै सबैभन्दा प्राचीन सभ्यताहरु (Mesopotamian Civilization)मेसोपोटामिया सभ्यता,(Indus Valley Civilization)सिन्दुघाँटि सभ्यता,याङसी नदिको(Chinese Civilization)जस्तै भारतिय उपमहादिपमा हिमाली भेगमा फैलिएको प्राचीन नेपालको भुगोल वरपर विशाल (Kirat Civilization)किरात सभ्यताको विकास भएको थियो भनेर स्थापित गर्न खोज अनुसन्धान उत्खनन गर्ने जमर्को नेपालको राज्यसत्ताले अहिले सम्म गरेको छैन।


यो प्राचीन नेपाल किरात भुमीमा बाहिरबाट पछि आएर शाषनसत्ता सम्हालेर बसेका ती शाषकहरु र ऊनीहरुको कब्जामा रहेको नेपालको यो राज्य सत्ताले र राज्य सत्तामा रहेका निश्चित वर्गका समुदायको मानिसहरुले यो नेपाली भुमिको सबैभन्दा प्राचीन सभ्यताको यस्तो गौरवशाली किरात ईतिहास लाई कुनै न कुनै बहानामा निरन्तर समाप्त पार्ने कामहरु गर्दै आईरहेको छ।


किराती राजा पटुकको दरबार अतिक्रमणमा 


प्राचीन नेपाल (किरात देश) यलम्बर हाङको शाषनकालमा (यलाखोम) अर्थात तत्कालिन काठमाण्डौ उपत्यका लाई केन्द्र बनाएर त्रिशुली देखी टिस्टा सम्म आफनो राज्य विस्तार गरेका थिए भन्ने ईतिहासमा पाईन्छ।किरात ईतिहास बारे लेख्ने पुरानो लेखक मध्ये वृटिश सेनाको अधिकृत कर्कप्रेटिक द्वारा 1793 मा लिखित (An Account of the Kingdom of Nepaul)अनुसार नेपालमा राजा यलम्बर हाङले ९० वर्ष ३ महिना शाषन गरेका थिए।



त्यसपछिको २७ पुस्ता सम्म किरातीहरुले शाषन गरेका थिए।डेनियल राईटको अनुसार किरातीहरुले २९ पुस्ता र त्यस्तै गोपाल वंशावली अनुसार ३२ पुस्ता सम्म किरातीहरुले शाषन गरेका थिए।यसरी किरात राजाहरुको नाम शाषनकाल र संख्या सम्बन्धि ईतिहासकारहरु बिच मत मतान्तर भएपनि घटिमा २७ जना किरात राजाले १६३० र बढिमा ३३ जनाले २६७२ वर्षसम्म नेपालमा शाषन गरेका थिए भन्ने कुरामा सबैको मान्यता छ।नेपालमा अन्तिम किरात राजाहरुको शाषनकालको कालखण्डमा,किरात देश नेपालको दक्षिणी मैदानी भु-भागमा वैशाली (वर्तमान उत्तरी विहार) क्षेत्रमा लिच्छवी जातिको राज्यहरु थिए।


त्यतिबेला लिच्छवीहरुले शक्तिशाली मगध राज्यको सम्राट अजातशत्रुको निरन्तर १६ वर्षसम्म आक्रमण झेल्नुपरेको थियो।अन्तमा:-ई.पु ५०० तिर लिच्छवी गण राज्यहरु ध्वस्त पारीयो,त्यसपश्चात युद्ध कौशल र राजनैतिकमा अब्बल केहि लिच्छवीहरु ज्यान जोगाऊन तत्कालिन (किरात देश नेपालमा) प्रवेश गरेका थिए।गोपाल वंशावली अनुसार सोम(जुन)वंशी राजपुत लिच्छवीहरुले सुरुवातमा पश्चिम पट्टिबाट किरात राजाको दरबारमा आक्रमण गरेका थिए।डेनियल राईटको वंशावली अनुसारको २८ औ तत्कालिन किराती राजा पटुकले आफनो गोकर्ण दरबारलाई त्यागेर दक्षिण तर्फ चारकोष टाढा रहेको शङ्खमुल तीर्थपारी गई अर्को दरबार बनाएर बसेका थिए।


त्यहि शङ्खमुल पारी बनेको किराती राजा पटुकको दरबार बाट पनि राजा पटुकले निकै लामो अवधि सम्म शाषन गरेका थिए।त्यहि उच्च स्थानमा रहेको किराती राजा पटुकको दरबार कालान्तरमा भत्किएर माटोको ढिस्को रुपमा परिणत भयो र त्यसै किराती राजा पटुकको दरबार भत्किएको माटोको ढिस्को लाई रैथाने नेवारहरुले नेपाल भाषामा (पटुकको डोँ) र त्यस टोलको नाम समेत (पटुक टोल) भनिन्दै आएकोले पटुक हाङको दरबार रहेको प्रमाणित हुन्छ।


उक्त पटुक दरबारमा किराती हाङ पटुकको शेषपछि गस्ती हाङले शाषन गरेका थिए।तर किराती राजा गस्ती माथी पनि लिच्छवीहरु द्वारा त्यस दरबारमा भयानक आक्रमण भयो।किराती राजाहरु माथी लिच्छवीहरुले गरेको आक्रमण यति भयानक र रक्तपात पुर्ण रहयो कि युद्ध पश्चात उक्त ठाँऊको नाम रैथाने भाषामा च्याँसल संस्कृतमा युपग्राप रहेकोले पुष्टि हुन्छ।यहि रक्तपात पुर्ण लडाईको परीणाम स्वरुप यलाखोममा तत्कालिन काठमाण्डू उपत्यकामा अन्तिम पराजय भोग्नुपर्यो र पुर्वतिर पलायन हुनपर्यो।


किराती राजाहरुले काठमाण्डौ उपत्यका छाडेर जानु अघि भएको उक्त भयानक अन्तिम युद्ध (ई सन ७५ देखी १००) सालको बिचमा भएको मानिएको छ।ति आक्रमण गर्ने लिच्छवीहरुको सन्तान राजा जयवर्माको नाम तथा संवत १०७ (पुर्व लिच्छवी लिपि) अर्थात ई १८५ मा कुदिएको ढुंगेमुर्ती काठमाण्डौको मालीगाऊमा फेला पर्यो र त्यसमा अंकित मितिको आधारमा उक्त युद्ध (ई ७५-१००)साल भएको सिद्ध हुन्छ। 


हालको भारतको विहार स्थित उत्तरी भुभागमा रहेका लिच्छवीहरु नेपाल भित्रिएका ति लिच्छवीहरुको आक्रमणबाट सुरक्षित रहन किरात राजा पटुकले गोकर्णमा रहेको आफनो राजधानी देखी दक्षिण करीब ४ घण्टाको पैदल बाटो टाढा बागमती नदी पारी यले/यल(नेपालको पहिलो राजा यलम्बर हाङको नामबाट नामङकित) भन्ने स्थलमा सारेका थिए भन्ने धेरै ईतिहासकार हरुको मान्यता रहेको छ।


उनै किराती राजा पटुकको नामबाट (हाल ललितपुर स्थित वडा नं १८ मा पर्ने) स्थलको नाम नै (पटुक टोल) भन्ने टोल आजसम्म नै कायम रहेको छ।त्यहि गौरवशाली ईतिहास बोकेको किराती राजा पटुकको ऐतिहासिक दरबार परीसर चौतर्फीबाट शहरीकरणको चपेटामा परेको छ भने बाँकि रहेको करिबन १ रोपनी क्षेत्रफलमा बेवारीसे अवस्थामा रहेको सबैले फोहोर फ्याक्ने गुहु मुत थुपार्ने माटोको ढिस्को लाई नै आज पनि किराती राजा पटुकको दरबार हो भनिन्छ।आजसम्म उक्त किराती राजा पटुकको दरबारलाई न हामीले पुरातात्विक अन्वेषण गर्न सक्यौ? न किरात जन्य संघ संस्था या किराती हौँ भनेर गर्व गर्ने हामी किरातीहरुले संरक्षण गर्न सक्यौ? 


यस पटुक दरबारको पुर्वपट्टि करीब १० मिनेटको पैदल बाटो टाढामा रहेको (शङ्खमुलघाट) देखी दक्षिण-पुर्वमा रहेको (हाल ललितपुर वडा नं ९ मा (च्यास) भनिन्छ जसलाई किराती राजाहरुको सुरक्षा किल्ला रहेको मान्यता रहेको छ।उक्त ऐतिहासिक स्थल (च्यास) मा पनि चारै दिशाबाट निजि घरहरु,एक दर्जन जति पाटि पौवा तथा हिन्दु मन्दिरहरु बनाएर अतिक्रमण गरीएको छ।यस दृढ कोट्ट(कोट) माथी किराती राजा पटुक हाङ पछि राजा बनेका गस्ती हाङको राज्यकालमा लिच्छवीको ठुलो फौजले निर्णायक रक्तपातपुर्ण आक्रमण गरेको थियो।

च्याँसल आठ सय)किराती लडाकुहरुको एकै चिहान पारीएको

जसको परीणाम स्वरुप किराती सैन्यबल ध्वस्त भयो।उक्त किराती किल्लामा (आठ सय)किराती लडाकुहरुको एकै चिहान पारीएको हुदा त्यसबेला देखा आजसम्म नेपाल वा नेवारी भाषामा (च्या+स+ ल अर्थात च्या= आठ,सल = सय अर्थात आठसय) भन्ने अर्थ लाग्ने गरी नामकरण भएको मान्यता छ।किरात माथी विजय गरी शाषक बनेका लिच्छवीहरुले पनि आफनो राजभाषा संस्कृतमा यस स्थलको नाम (युपग्राम) नामकरण गरेका थिए।


जसको शाब्दिक अर्थ (युप= बलिका निम्ति पशु ल्याएर यज्ञबेदिमा बाँधिने खम्बा,मौलो वा विजय खाँबो,त्यसैगरी ग्राम=को अर्थ गाँऊ।यसरी यस क्षेत्रको (यलम्बर हाङको नामबाट राखिएको प्राचीन किराती नाम= यल/यले)को साटो युपग्राम राखिनुको कारण पटुक राजाको दरबार र त्यसको नजिकैको हाल च्याँसलमा लिच्छवीहरुले भयानक आक्रमण गरेको या किराती र लिच्छवी बिच रक्तपातपुर्ण मारामार भएको धेरै संख्यामा किरातीहरु मारीएको घटना सुहाऊदो नाम युप-ग्राम अर्थात मनुष्यहरुले बलि चढेको मारकाट चलेको गाँऊ अर्थ दिने गरी संस्कृतमा लिच्छवीहरु उक्त नाम जुराएको हुनसक्दछ।


यस किराती राजा पटुकको दरबार सम्बन्धि नेपाली संस्कृतिका विद्वान धुस्वाँ सायमीले लेखेका छन:- क्वाबहाल क्वाठबहाल= प्रशासन केन्द्र) नजिकै रहेको उक्त ढिस्को लाई स्थानिय समग्र जनताले अझै पनि किराती राजा पटुकको दरबारको भग्नावशेष ठान्दछन। 


यहाँ प्राचीन केहि मुद्राहरु पाईएका थिए,तर अचम्मसंग ती सबै गायब भए।सम्भव छ,यस ढिस्को पुरातात्विक उत्खनन एव अन्वेषण गरी अवशिष्ट फेला पार्न सकिएमा यसले नेपाल लाई आफनै (सिन्दुघाटिको सभ्यता स्वरुपको किरात सभ्यता दिनेछ) जसले हाम्रो सांस्कृतिक विरासत-सम्पदा लाई गौरवमयी तुल्याऊनेछ।यहाँ सिन्दुघाँटिको सभ्यताको प्रसंग आएकोले भारतिय उपमहाद्वीपको प्राचिन सभ्यताको रुपमा सिन्दु उपत्यका स्थित हडप्पा तथा (मोहनजोदडो= किरात भाषामा मा+हाङ+जोड+दाडो) भन्ने शब्दको अर्थ (मुमा महारानीको गढी महल ) हुनेगर्दछ। 


किराती भाषाबाट नै अप्रभंशित हुदै मोहनजाडो भएको हो।उक्त हडप्पा र मोहनजोदडो सभ्यताको उत्खनन (१९२१-७२ ई) भएको थियो।उक्त उत्खनन बाट उपलब्ध तामा युगको अवशेषहरु ले यस भारतीय उपमहाद्वीपमा आर्यहरुले पाईला टेक्नु भन्दा लामो कालअगाडिको किरात द्रविड तथा अन्य रैथाने जातिको मिश्रित सभ्यतालाई प्रमाणित गरेको छ।उक्त उत्खननमा चार प्रजातिको हाडहरु फेला परेको थिए।१) प्रोटो अष्ट्रोलाईड २) मेडिटेरीनियन ३) मंगोलाईड ४ अलिपिनाईड जसमध्ये मंगोलाईड हाडहरुले किराती पुर्खाहरु रहेको प्रमाणित गर्दछ।


त्यस उत्खननमा किरातीहरुले प्रयोग गर्ने मुन्दुमी गहना वाछुईनारी(सिमाला) भेटिनु,किरातीहरुले खाने गरेको गाईगोरु र सुंगुरको हाडहरु फेला पर्नु तथा भारतको राखिगढिमा भेटिएका करीबन ४५०० वर्ष पुरानो कङ्कालहरुको DNA रीपोर्ट द्वारा आर्यहरुको DNA R1A1 प्राप्त नहुनु अन्य मुलनिवासी मिश्रित रैथाने जनजाती समुदायहरु DNA I4411 संग मिल्नुले त्यहाँ किरातीहरुको पनि उपस्थिती थियो भन्ने प्रमाणित हुन्छ।


माथी उक्त पङ्तीका लेखक धुस्वाँ सायमी र ऊनी जस्तै किरात ईतिहास एव संस्कृतिको तमाम हिमायतीहरुको उपरोक्त ईच्छा बमोजिम किराती राजा पटुक दरबार क्षेत्रको पुरातात्विक उत्खनन तथा अन्वेषण गर्न सकिएको छैन।यो एकदमै दुखद कुरा हो। 


त्यस किराती राजा पटुकको दरबार ढिस्को क्षेत्रलाई पुरातात्विक उत्खनन गरेर नेपालमा पनि सिन्दु घाँटिको सभ्यता सरहको पुरातात्विक प्रदर्शनी स्थलमा परीणत गर्ने प्राचिन किरात सभ्यताको रुपमा स्थापित गराऊन सक्ने कोहि सपुत जन्मिएको देखिएन।नेपालमा किरात पछिको हालसमको हिन्दु ब्राम्हणवादि सबैखाले शाषकहरुले किरात सभ्यता,ईतिहास,संस्कृति लाई जसरी पनि समाप्त,नष्ट पार्नु,नाम निशाना नदेखिने गरी ध्वस्त पार्नु खत्तम बनाऊनु नै पुनित धार्मिक कार्य हुने ठान्दछन।


नेपालको गौरवशाली ईतिहासमा त्यस्तो प्राचीन किरात सभ्यतालिन किराती राजा पटुकको दरबार (माटोको ढिस्को) क्षेत्र अब पुरातात्विक स्थल वा सार्वजनिक वा ऐलानी जग्गाको रुपमा रहेको छैन।किराती राजा पटुकको दरबार रहेको पटुक दरबारको जग्गा ५ जना संयुक्त परिवारको निजि सम्पत्तीमा परिणत भईसकेको छ।


हाल पत्ता लागे अनुसार ललितपुर उपमहानगरपालिकाको वडा नं १८ मा पर्ने उक्त ढिस्को १२ आना तिन पैसा पर्ती जमिन बँचेको रहेछ।तर यस पुरातात्विक स्थलको जग्गा लाई भोगचलनको बिना रसिद-प्रमाण (थुम्को) भन्ने उल्लेख गरेर सो को जग्गाधनी पुर्जा गङादेवी राज भण्डारी समेत ५ जनाको संयुक्त परिवार लाई श्रि ५ को सरकार मालपोत कार्यलय ललितपुरको वि.सं २०४८ सालमा नै विधिवत रुपमा प्रदान गरीसकेको थाहा भएको छ।


यो हिन्दु ब्राम्हणवादि राज्यसत्ताले यसरी नेपालको एक गौरवशाली ईतिहास बोकेको सबैभन्दा प्राचीन किरात सभ्यता ईतिहासको पुरातात्विक प्रमाणलाई नष्ट गर्ने काम गरेको छ।उक्त ऐतिहासिक किरातकालिन पटुक दरबार लाई अपराधिक अतिक्रमण गर्ने काममा गैर-किराती समुदायको मानिसहरुले चारैतिर बाट निजि घर बनाएर नेपालको एक गौरवशाली प्राचीन ईतिहास लाई समाप्त पार्ने काम गरेका छन।


यस पटुक राजाको दरबारलाई संरक्षण गर्नको निमित्त अध्ययन अनुसन्धान गरी सुझाब -प्रतिवेदन पेश गर्न चार किरात जन्य संस्थाको संयुक्त बैठकले समिती गठन पनि गरेको थियो।उक्त समितीको अध्ययन बाट २०२१ सालको जग्गा नापि फिल्डबुकमा साँधको दरबार क्षेत्रलाई थुम्को जनाई निस्सा लिईरहेको तर पछि छिमेकी संग पर्खाल सम्बन्धि मुद्दा दर्ताको अन्तिम तह क्षेत्रिय अदालतको फैसलामा पटटको डो को नाम पर्खालको प्रसंगमा उल्लेखित भए पनि सो जग्गा समेतकै लालपुर्जा मालपोत कार्यलयबाट फुत्काएको कागजात द्वारा देखिएको थियो।

तसर्थ सुझाब प्रतिवेदन अनुसार चन्दा उठाई चारै किरात संस्थाहरुको संयुक्त नाममा उक्त ऐतिहासिक किराती राजा पटुकको दरबार पटुको डो खरीद गरी जग्गा धनी -पुर्जा हत्याऊने पहिलो उपाय स्वरुप जग्गाधनि संग चारै किरात संस्थाको संयुक्त टोलीले जग्गा खरिद वार्ता गरेको थियो।


तर मंहगो रु ३६ लाख जग्गाको मुल्य माग भएको हुदा खरिद चेष्टा त्यागी सो जग्गाको व्यक्तिगत दर्ता खारेज गराई सार्वजनिक स्थितीमै परीणत गराऊने दोस्रो विकल्पको प्रयास गरीएको थियो।यो प्रयास पनि पुरातत्व विभागले पन्छाएर भुमि सुधार तथा व्यवस्थापन विभागको टाऊकोमा अनी भुमि सुधार विभागले पनि मालपोत कार्यलय ललितपुरको टाऊको देखाएर पन्छाएको थियो।अहिले पनि किराती राजा पटुकको दरबार भनिएको उक्त ढिस्को बेवारीसे जिर्ण अवस्थामा रहेको छ।


यो प्राचीन देश नेपालको माटोमा किराती पुर्खाहरुले हजारौ वर्ष पहिला मानव सभ्यताको विकास सुरुवात गरे।यो नेपाली भुमिमा गौरवशाली किरात ईतिहास संस्कृति छाडेर गए।तर त्यहि गौरवशाली किरात सभ्यता ईतिहास बनाएका किराती पुर्खाहरुकै सन्ततीहरु भनेर आफुलाई किरात भनेर गर्व गर्ने आजको किरातीहरुले आफनो पुर्खाहरुको गौरवशाली ईतिहास लाई जोगाऊन सकेनन।


यस्ता किरात सभ्यताकालिन किरातकालिन ऐतिहासिक स्थलहरु भग्नावशेषहरु संरक्षण गर्न सक्ने कोहि किराती सपुत जन्मिएको देखिएन।नेपालमा किरात जन्य संस्थाहरु किरात राई यायोक्खा,किरात याक्थुङ चुम्लुङ,सुनुवार सेवा समाज,किरात याक्खा छुम्मा,आदिवाशी किरात महासंघ,किरात कुलुङ संघ,किरात राई चाम्लिङ खाम्बातिम,किरात राई वान्तवा खिम लगायत विभिन्न किरात जन्य भाषिक संघ संस्थाहरु गठन भएका छन।


ति प्रत्येक किरात संघ संस्थाहरुको करोडौ लाखौ रुपैया पर्ने काठमाण्डौ,धरान,ईटहरी जस्ता सहरहरुमा संस्था नै पिच्छेको लाखौ करोडौ चन्दा संकलन गरेर संस्थाको औचित्यहिन भवनहरु बनाऊने,घडेरी किन्ने होडबाजी नै चलेको देखिन्छ।तर हामी किरातीहरुले यस्ता प्राचिन किरात सभ्यताकालिन किरातकालिन ऐतिहासिक स्थल,दरबार गढि तथा भग्नावशेषहरुको महत्व कहिल्यै बुझ्न सकेनौ।त्यसैले त किरात जन्य संघ संस्थाहरुले लाखौ करोडौको संस्था पिच्छेको भवन निर्माण गर्न,घडेरी किन्नमा व्यस्त छौ तर हाम्रो आँखा अगाडि नै यस्ता किरातकालिन ऐतिहासिक प्रमाणहरु समाप्त भएर गईरहदा पनि हामीले संरक्षण प्रवर्धन गर्ने काममा चन्दा संकलन गर्ने या १ रुपैया खर्च गर्ने काममा भने कसैको ध्यान गएको छैन।

किरातीछाप

काठमाण्डौ उपत्यकामा रहेका अन्य किरातकालिन ऐतिहासिक स्थल,गोकर्ण,सङ्खमुल वरपर सारीएका किराती राजधानी सहर,बस्तीहरु,ऐतिहासिक भग्नावशेषहरु,किरातकालिन मुर्ती,चैत्यहरु कता कता थिए? कस्तो अवस्थामा छन? खोज अनुसन्धान गरेर संरक्षण गर्न सकिएको छैन।त्यस्तै अर्को किरातकालिन ऐतिहासिक स्थल किरातीछाप दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ६ रहेको छ।यो चरीकोट बजार बाट ८ किलोमीटर टाढा जिरी जाने बाटोमा पर्दछ।यहाँ केहि वर्ष अगाडि सम्म किरातकालिन भग्नावशेषहरु थियो भनिन्छ।किरातकालमा किराती राजाहरुले त्यहि स्थलमा बसेर छाप लगाऊने काम गर्दथिए तसर्थ किरातीछाप नाम रहन गएको मान्यता रहेको छ।



उक्त किरातकालिन स्थल किरातीछापमा हाल एउटा (किरातीछाप) लेखिएको साइनबोर्ड मात्र सिमित रहेको छ।यस्तो ऐतिहासिक किरातकालिन स्थललाई न किरात जन्य संघ संस्थाले न कुनै किरातीहरुले किरातकालिन ऐतिहासिक स्थल भनेर किराती संरचना बनाएर संरक्षण प्रवर्धन गर्न कहिल्यै पहल गरेको छैन।त्यति गर्विलो किरात ईतिहास बोकेको ऐतिहासिक स्थल लाई संरक्षण गर्ने कुनै किराती सपुतको जन्म भएको देखिएन।

नेपालको रामेछाप जिल्लाको क्षेत्र नं २ सुनापती गाउपालिकाको एउटा डाँडामा किरातकालिन ढुङ्गाको बौद्ध चैत्यहरु छन।


उक्त ढुङ्गाको चैत्य लाई स्थानिय बुढापाकाहरु किराती चैत्य भनेर पुजा गर्ने गरेका छन।तर ति कहिलेको हो भन्ने कुनै प्रमाण छैन।त्यस्तै रामेछाप र दोलखा जिल्लाको विभिन्न स्थानमा डाँडामा जंङ्गलमा प्राचिन किरातीहरुले निर्माण गरेका सहरहरु बस्तीहरुको भग्नावशेषहरु रहेको कुरा पनि जानकारीमा आएको छ।यस्ता किरातकालिन ऐतिहासिक प्रमाण तथा भग्नावशेषहरु संरक्षण गर्नु धेरै परको कुरा तर यस्तो कुरामा अधिकाँश किरातीहरु बेखबर रहेको पाईएको छ।

हतुवागढि दरबार

भोजपुर स्थित घोडेटार बजारको शिरमा दक्षिण पश्चिममा रहेको तत्कालिन माझकिरातको किरातकालिन हतुवा राज्यको दरबार हतुवागढिको भग्नावशेष राज्य द्वारा अतिक्रमणको चपेटामा परेको छ।नेपालमा जनयुद्धको समयमा नेपाली सेनाले हतुवागढि दरबार क्षेत्र लाई कब्जा गर्दै मिति वि.सं २०६२ मंसिर १ का दिन क्याम्प स्थापना गर्‍यो।यसरी राज्य द्वारा अतिक्रमणमा परेको ऐतिहासिक किरातकालिन हतुवागढि बाट नेपाली सेनाको क्याम्प हटाएर पुरातात्विक उत्खनन संरक्षण प्रवर्धन गर्दै किरातकालिन ऐतिहासिक दरबारको रुपमा स्थापित गर्न सकिएको छैन। 


किरातहरुको मुन्दुमी खुवालुङ हिन्दुकरणको चपेटामा 


किरात समुदायको राई लिम्बु याक्खा सुनुवार लगायत सम्पुर्ण किरातीहरुको मुन्दुममा मुन्दुमी शक्तिकेन्द्र खुवालुङ प्रसंग उल्लेखनीय रुपमा आऊने गर्दछ।यस मुन्दुमी शक्तीकेन्द्र खुवालुङ भोजपुर उदयपुर र धनकुटा जिल्लाको सिमानामा रहेको अरुण नदि तमोर नदि र दुधकोशी नदिको संगम स्थल नै त्रिवेणी मा नै खुवालुङ रहेको छ।



उक्त खुवालुङको लुङ चैत्र वैशाख महिनामा नदिको पानी घटेको अवस्थामा देख्न सकिन्छ।प्राचीन समयमा किराती पुर्खाहरु खुवालुङमा आएपछि मुन्दुमी ढोका बन्द भएको र पछि यहि खुवालुङ बाट नै सबै किराती दाजुभाईहरु विभिन्न नदिलाई पछ्याऊदै छुट्टिएको हो भन्ने मुन्दुममा मान्यता रहेको छ।


किरातीहरुको सांस्कृतिक अगुवाहरु नछुङ,माङ्पा,नाक्छो,नागिरे,कुबी,पासीङ,होमे,मावी,ज्वाम्चो,दोवा,पासिङ,फेदाङमा बिजुवा देवारीहरुले मुन्दुम गाऊदै जादा विभिन्न शक्तीको प्रतिकहरु पुकार्दै समथर भुभाग देखी सुरु गर्दै सप्तकोशी हुदै मुन्दुमी शक्तीकेन्द्र खुवालुङ सम्म पुग्दछन।


यस खुवालुङ मुन्दुमी शक्तीको शक्तिकेन्द्र हो,त्यसैले यस खुवालुङको सांस्कृतिक महत्वपुर्ण छ।किरातीहरुको सांस्कृतिक मुन्दुमी शक्तिकेन्द्र खुवालुङ लाई पनि दैविक शक्ती रहेको स्थल भएको कारण हिन्दुकरण गर्ने प्रयास गरीरहेका छन।२०७५ सालमा एकजना हिन्दु अतिक्रमणकारीले खुवालुङ क्षेत्रमा ढुङ्गाको पर्खाल हालेर बारीएको थान लाई श्रि कौशिका माताको मन्दिर भनेर हिन्दुकरण गर्ने प्रयास गरेका थिए।



त्यस्तै अन्य स-साना ढुङ्गाहरु ठड्याएर गणेश,विष्णु,दुर्गा आदि नामकरण गरेर किराती मुन्दुमी स्थल खुवालुङ लाई हिन्दुकरण गर्ने प्रयास गरेका छन।हामी किरातीहरुले यस मुन्दुमी शक्तिकेन्द्र,सांस्कृतिक स्थल खुवालुङ लाई सांस्कृतिक रुपमा संरक्षण प्रवर्दन गर्न सकेका छैनौ।हामी किरातीहरुले खुवालुङ लाई मुन्दुमी शक्तीकेन्द्र भनेर मुन्दुमी संरचना यामाङखिम यावाबुकको प्रतिमा या कुनै किराती सांस्कृतिक संरचना बनाएर संरक्षण गर्नु आवश्यक छ।


मुन्दुमी शिर साल्पा शिलिचुङ हिन्दुकरणमा 


भोजपुरमा रहेको किरातीहरुको मुन्दुममा आऊने मुन्दुमी स्थल साल्पा पोखरीको शिर सिलिचुङ लाई पनि महादेव बसेको स्थान भन्ने कथाहरु जोड्ने गरीएको सुनिन्छ।किरात मुन्दुमी स्थल साल्पा पोखरीको शिर शिलिचुङमा त्रिशुल ध्वजाहरु टाँगेर हिन्दुकरणको चपेटामा परेको दृश्यहरु देख्न सकिन्छ।साल्पा सिलिचुङमा सांस्कृतिक रुपमा किरातीहरुको मुन्दुमी स्थल हो भनेर कुनै किसिमको किराती पहिचान झल्किने सांस्कृतिक विम्बहरु जस्तै:-सुम्निमा पारुहाङको प्रतिमा स्वरुप शिला ढुङ्गा/साकेला लुङ या वाबुक चिण्डोको प्रतिक राख्न सकिएको छैन।


यस मुन्दुमी स्थल साल्पा पोखरीको शिर सिलिचुङमा किराती माङ्पा/विजुवा/धामीहरुको उपस्थिती भएपनि सिलिचुङ लाई महादेव बसेको स्थल भन्ने कथाहरु जोड्न थालिएको रहेछ।त्यहाँ त्रिशुलहरु र अन्य धर्मालम्बीहरुको ध्वजाहरु टागेको देखिन्छ तर किराती पहिचान झल्किने कुनै किसिमको विम्बको अस्तित्व देखिन्दैन।तसर्थ अन्य धर्मको मानिसहरुले ऊनीहरुको धार्मिक विम्ब राखेर कथा कहानी जोडेर निरन्तर धार्मिक सांस्कृतिक अतिक्रमण गर्दै आईरहेका छन।

होलैसुङलाई आज हलेसीधाम महादेव भनेर हिन्दुकरण

किरातीहरुको ऐतिहासिक सांस्कृतिक स्थल खोटाङको (होलैसुङ)लाई आज हलेसीधाम महादेव भनेर हिन्दुकरण गरीएको छ।


त्यस्तै सुनसरीको कोकाहा नदि र दुधकोशीको संगमस्थलको दुधकोशी किनारमा रहेको रहेको किरात आठपहरीया राईहरुले आफनो पुर्खा अलप भएर पत्थरको सुङ्गुर बनेको स्थल (बराहमाङ)

लाई पनि बराहक्षेत्र बनाई हिन्दुकरण गरीएको छ।यो राज्यसत्ता र राज्यसत्ताको बागडोर सम्हालिरहेका निश्चीत शाषक वर्ग जाती धर्मावलम्बी समुदायले यस्ता किराती ऐतिहासिक तथा सांस्कृतिक स्थलहरु माथी सांस्कृतिक अतिक्रमण निरन्तर गर्दै आईरहेको छ।


जस्तै:-उदयपुरको राईघाट लाई गाईघाट,मुकुमलुङ माङ लाई पाथीभरा मन्दिर,चतरालाई प्राचिन हरीद्वार,विसुन पाऊन अदुको लाई विष्णुपादुको,भोजपुरको लेगुवा लाई रामबजार,प्राचिन भोजपुरको किराती नाम (खिकामाछा) लाई भोजपुर नामकरण,लगायतको धार्मिक सांस्कृतिक अतिक्रमणको बेजोड उदाहरणहरु हुन। नेपालको पुर्वमा रहेका किरात राज्यमा रहेका कयौँ किरातकालिन ऐतिहासिक दरबार गढिहरु जस्तै विजयपुर गढि,

मझुवागढि,हलेसीगढि,केपिलासगढि,सागुरीगढि,भोल्टेकोटगढि,बुङनामगढि,च्यानामगढि,तोलोवागढि,


कोटगढि लगायत ऐतिहासिक दरबार गढिहरु बेवारीसे अवस्थामा लोपन्मुख अवस्थामा पुगेका छन।त्यसैको फाईदा उठाऊदै कत्तै राज्यसत्ताले नै किरातकालिन ऐतिहासिक प्रमाणहरु समाप्त पार्न निरन्तर अतिक्रमण जारी राखेको छ भने कतै हिन्दुकरणको चपेटामा परेर समाप्त हुदै गईरहेको छ। 


यो राज्य सत्ताले यती गर्विलो ईतिहास बोकेको ती किरात सभ्यताकालिन ईतिहास लाई संरक्षण प्रवर्धन नगर्नु बेवास्ता गर्नु त दुखद कुरा त छदैछ।तर त्यहि गर्विलो ईतिहास बोकेको किरात सभ्यताको त्यहि किरात पुर्खाहरुको सन्ततीहरु हौ भनेर आफुलाई गर्व गर्ने आजको किराती समाजको संघ संस्थाहरु र किरातीहरुले समेत लोपन्मुख अवस्थामा रहेका यस्ता किरात सभ्यताकालिन ऐतिहासिक,सांस्कृतिक स्थलहरु,गढिहरु,दरबारहरु,ऐतिहासिक भग्नावशेषहरु जस्ता संरक्षण प्रवर्धन गर्ने कुरामा बेवास्ता गरेको देख्दा त्यती गर्विलो ईतिहास बनाऊन सफल ती किराती पुर्खाहरुले आफनो सन्ततीहरु प्रति धिक्कारी रहेका होलान भन्ने लाग्दछ।


किरात जन्य संघ संस्थाहरु,किरात भाषिक संघ संस्थाहरुले काठमाण्डौ धरान ईटहरीमा करोडौ लाखौ चन्दा संकलन गरेर प्रत्येक संस्था पिच्छेको ति औचित्यहिन गगनचुम्बी भवन र घडेरीहरु खरिद गर्ने काममा होडबाजी गरीरहदा यस्ता महत्वपुर्ण कामलाई बेवास्ता गरीरहेका छौ।


किरात संघ संस्थाहरुले सहरमा भवन निर्माण गर्नु भन्दा पनि बढि महत्वपुर्ण काम यस्ता ऐतिहासिक प्रमाणहरु किरात सभ्यताकालिन ऐतिहासिक गढिहरु दरबारहरु भग्नावशेषहरु सांस्कृतिक स्थलहरु लाई संरक्षण प्रवर्धन गर्ने महत्वपुर्ण हुन भन्ने बुझ्न आवश्यक छ।तर किरातजन्य संघ संस्थाहरु लाखौ करोडौ खर्च गरेर विभिन्न सभा सम्मेलनहरु गर्नमा व्यस्त देखिन्छ।अझ प्रवासमा रहेका किरात संघ संस्थाहरु कलाकार बोलाएर नाँचगान कार्यक्रम गर्ने बाहेक यस्ता किरातकालिन ऐतिहासिक सांस्कृतिक स्थलहरु संरक्षण गर्ने कामहरु गर्नुपर्छ भन्ने तिर ध्यान गएको देखिन्दैन।


नेपालको सबैभन्दा प्राचीन सभ्यता किरातकालिन  किराती राजा पटुकको दरबार आज भण्डारी परीवारको निजि सम्पत्ती बनेको छ।के यस्तो कुराले हामी किरातीहरु लाई अलिकति पनि मन पोल्दैन? के हामी किरातीहरुले हाम्रो पुर्खाहरुको गौरवशाली इतिहासलाई लात हानेकै हौ त ? नेपालको ईतिहासमा त्यति गौरवशाली ईतिहास बनाऊने ति महान किराती पुर्खाहरुको सन्ततीहरु के हामी जिऊदो लाश झै भईसकेका हौ त ? 

प्रत्येक संस्था पिच्छेको लाखौ करोडौको भवन निर्माण घडेरीमा लगाऊने लगानीको साटो किन ऐतिहासिक प्रमाण किराती राजा पटुकको दरबार खरीद गर्ने काम गरेनौ? के ? त्यती गौरवशाली इतिहास बोकेका हाम्रो किराती राजा पटुकको दरबारको महत्व भन्दा पनि बढि महत्वपुर्ण काठमाण्डौ धरान ईटहरीमा संस्थाको भवन निर्माण गर्नु नै हो? त ? के हामीले चाहाने हो भने यत्रो देशविदेशमा रहेका कयौँ किरातजन्य संघ संस्था र लाखौ किरातीहरुले एक एक रुपैँया चन्दा संकलन गरेर किराती राजा पटुकको दरबार भण्डारीको निजि सम्पती हुनबाट जोगाऊन सक्दैनौ त ? हजारौ वर्ष पहिला त्यती गौरवशाली इतिहास बनाऊने किराती पुर्खाहरुको कथित सन्ततीहरु हामी किरातीहरु किन यती निरिह भयौ ? कि हामी जिवित हुदाहुदै हाम्रो गर्विलो पुर्खाहरुको ईतिहासलाई समाप्त पार्दै गर्दा पनि हामी चुपचाप मुकदर्शक भएर बस्ने हामी किन यती नालायकीपन देखाई रहेका छौ ? हजारौ वर्ष पहिला त्यति गर्विलो ईतिहास बनाऊने किराती पुर्खाहरुको के? हामी कोहि पनि सन्ततीहरु ? पुर्खाहरुको गौरवशाली इतिहास लाई संरक्षण गरेर जोगाऊने कोहि पनि सपुत नजन्मिएकै हो त? यस्ता गम्भिर प्रश्नहरु जवाफविहिन किरात समुदायको अगाडि तेर्सिरहेका छन।  


किरात संघ संस्थाको कार्यक्रम तथा सभा सम्मेलनमा किरातीहरुले ईतिहासको पानाहरुलाई आधार मानेर यहाँ प्राचीन किरात सभ्यता थियो भन्दै आईरहेका छौ।तर ईतिहासको पानाहरुको आधारमा मात्रै किरात सभ्यता थियो भनेर राष्ट्रीय अन्तराष्ट्रीय स्तरमा प्राचीन किरात सभ्यता लाई प्रमाणित गर्न सकिन्दैन।त्यस्को निमित्त मानशाष्त्री/समाजशास्त्रीहरुको खोज अनुसन्धान,अनुवांशिक वैज्ञानिकहरु द्वारा वंशाणुगत पुष्टि,पुरातात्विक उत्खनन द्वारा प्रमाणित हुन आवश्यक पर्दछ।


यस्ता किरात सभ्यताकालिन,किरातकालिन ऐतिहासिक स्थलहरु,दरबारहरु,गढिहरु,प्राचीन वस्तीहरु,मुर्ती,चैत्य,भग्नावशेषहरु,कृषि प्रणालीमा प्रयोग हुने उपकरण औजार,हातहतीयार हरुको उत्खनन द्वारा प्रमाणित हुन आवश्यक पर्दछ।यदि यस्ता प्राचीन किरात सभ्यकालिन भग्नावशेषहरु,किराती राजा पटुकको दरबार,किरातकालिन दरबार,गढिहरु लगायत यस्ता ऐतिहासिक भग्नावशेषहरु नै समाप्त भएर जाने हो भने।


यो प्राचीन भुमि नेपालमा किरातीहरुले नै प्राचीन मानव सभ्यताको विकासको सुरुवात गरेका थिए भन्न,यहाँ राजा यलम्बर देखी गास्ती सम्मको किरातीहरुले ३२ पुस्ता सम्म शाषन गरेका थिए भन्ने प्रमाणहरु पनि समाप्त भएर जानेछ।त्यसैले यो प्राचीन भुमि नेपालमा हाम्रो किराती पुर्खाहरुको गौरवशाली ईतिहासको प्रमाण विहिन हुनेछौ।


यो देश नेपालको ईतिहासबाट गौरवशाली प्राचीन किरात सभ्यता,किरात ईतिहास समाप्त भएर जानेछ।हाम्रो प्राचीन सभ्यता संस्कृति र ईतिहास समाप्त भए हामी समाप्त भएर जानेछौ,हाम्रो पहिचान र अस्तित्व समाप्त भएर जानेछ। 


अत:-सम्पुर्ण किरात संघ संस्थाहरु,किराती समाज-समुदायको ति किराती पुर्खाहरुको गौरवशाली गाथालाई जोगाऊन आजको किरातीहरुले यस्ता किरात सभ्यताकालिन स्थलहरु,किरातकालिन पटुक दरबार,किरातकालिन दरबारहरु,गढिहरु,चैत्य,वास्तुकला,मुर्ती,कृषि प्रणाली जन्य औजार उपकरण,हातहतियार,विभिन्न भग्नावशेषहरु जस्ता प्रमाणहरु तुरुन्तै संरक्षण प्रवर्दन गर्ने काममा सबै किरातीहरु जुट्नु आवश्यक छ । 


मुलघरे कान्छा (राजेन खिम्बुले राई) 


श्रोत सन्दर्भहरु:- Kiratas in Ancient India (GP Singh)

प्राचीन किरातहरुले छाडेका सम्पदाहरु 

(रामचन्द्र राई रुपाबुङ)

किरात याक्खाको ईतिहास एक छलफल 

दुर्गाहाङ याक्खा राई

राखिगढिको डिएनए रीपोर्ट आर्टिकल

Comments

  1. मत मिलाऔ,एकता हौ,कमिला भै अघि बढौ,नहुने के छ र? किरातीं हौं, निडर बनौं, पूबजौं जस्तो कहाँ हौ र?
    शुभ चिंतक......।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ) budhahang Budhanilakatha

 किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ ).   किरात राजा बुढाहाङ ( बुढानिलकंण्ठ )…. किरात राई बान्तवा समुदायको पुर्खाहरूको एउटा कथनअनुसार मल्ल र शाहबंशिय राजाहरूले किरांत राजा बुढाहाङलाई युद्धमा हराउनु नसक्दा तिनीहरूले एउटा घोर षडयन्त्र रचेर बुढाहाङलाई दावतमा आमन्त्रित गरे र त्यो आमन्त्रितलाई सहजै स्विकार गरेर बुढाहाङ त्यो दावतमा सामिल भए र त्यही मौका हेरी मल्ल या शाहबंशिय राजाहरूले दैविक शक्ति द्वारा बुढाहाङलाई शिलामा परिणत गरी पानीमा डुबाईदिएका थिए। पछि पछि किरांतहरू त्यस शिलामा कोदो मर्चा अदुवा लगेर पुजा गर्दा त्यो शिला कम्पन ( हल्लिने ) हुने गर्दथ्यो र यो कुरा मल्ल र शाह राजाहरूले थाहा पाएर त्यो बुढाहाङको शिलालाई कसैले थाहा नपाउने गुप्त ठाँउमा लुकाएर राखिदिए साथै त्यो असली शिला भएको जग्गामा चै नक्कली शिला राखिदिए जसलाई आज बुढ़ानिलकण्ठ भनेर चिनिन्छ । किरात चाङफेवाहाङ वंशका यङलुहोङ यलम्बर इशापूर्व तेश्रो सताब्दी तिर नेपाल उपत्यकाका राजा भए । उनले महिषपालवंशी राजाहरुलाई हराई त्यहाँ आफ्नो राज्यकेन्द्र स्थापना गरेका थिए । उनी र उनका सन्ततीहरुले उपत्यकामा बत्तीसौं पुस्ता सम्म उपत्यकामा शासन गर

किरातीहरुले गाई-गोरु का-टेर साकेला थान पुजा गर्दथिए

  किरातीहरुले आफनो मुन्दुमी संस्कृतीअनुसार उधौली-उभौली/साकेला पुज्दा/पितृ ३ चुला सुप्तुलुंग पुज्दा गाई-गोरुको मासु चढाउने गर्दथिए। नेपालको सबैभन्दा प्राचीन पुष्ट ईतिहास नै किरातकाल हो।किरातीहरुको पहिलो राजा यलम्बर हाङ देखी राजा गस्ती सम्म ३२ पुस्तासम्म यलाखोम भनेर चिनिने हालको काठमाण्डौ उपत्यकामा एकछत्र राज गरेको ईतिहास साक्क्षी छ। किरातीहरुले गाई-गोरु का-टेर साकेला थान पुजा गर्दथिए। किरात सभ्यता प्राचीनकाल देखी नै किरातीहरुले आफनो मुन्दुममा आधारीत रहेर मौलिक संस्कार संस्कृती मान्दै आईरहेका छन।किरातीहरुले प्रकृती(Nature) पुज्दछन/आफनो पितृ (Ancestors)लाई पुज्दछन/किरातीहरुले पैतृक अदृश्य शक्ती(Shamanism-Animinasm)पैतृक शक्ती र अदृश्य मुन्दुमी संसारमा विश्वास राख्दछन।  जसलाई Science विज्ञानमा आधारीत Quantum physics को भाषामा (सर्वव्यापी शक्ती) भन्न सकिन्छ भन्ने धारणा हो। किरातीहरुले जन्म देखी मृत्यु सम्म आफनो मुन्दुम अनुसार संस्कार संस्कृती गर्दछन,भने मुलत आफनो पुर्खा Ancestors सुम्निमा पारुहांग लाई मान्दछन। किरातीहरुले उधौली -उभौली गर्दा साकेला पुज्दा होस या आफनो पितृ पुज्दा पित्मासा/फोप